प्रधानन्यायाधीश नियुक्ति चाँडो टुङ्ग्याउन नेपाल बारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, ९ फागुन : 

कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेष रूपमा लिनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष घिमिरेले लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बताउनुभयो । प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ ।

विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हुनुहुन्छ । भेटमा अध्यक्ष घिमिरेसहित महासचिव अञ्जिता खनाल, बागमती प्रदेश उपाध्यक्ष हर्क रावल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी