नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी 

काठमाडौं, ५ चैत :

कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी हुनुभएको छ ।

झन्डै सात सय सदस्य रहेको सङ्घको चुनावमा चार सय ६८ मत खसेको थियो । खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गरी निरौला अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गर्नुभयो ।

सङ्घ स्थापना हुँदा नै सदस्य रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसक्नुभएको थियो । अध्यक्षमा निर्वाचित भएपछि निरौलाले आउँदो दिनमा कलाकारले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित हुनुभयो । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी हुनुभयो । अन्य सदस्यमा गोपाल ढकाल दुई सय ८७, उद्धवप्रसाद भट्टराई दुई सय ११, पवन केसी दुई सय दुई, नम्रता खरेल एक सय ८७, पुकार भट्टराई एक सय ८२, खुश्बु खड्का एक सय ७७, सरिता राधोपाध्याय एक सय ४६, रोशन श्रेष्ठ एक सय ३५ र समीर लामा एक सय ३३ मत प्राप्त गरी विजयी हुनुभयो ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा