काठमाडौं, १८ जेठ :
फुटबलका चर्चित हस्तीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै टेनिस स्टार रोजर फेडेरर विश्वमा सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा उनी पहिलोपटक शीर्ष स्थानमा आएका हुन् । ३८ वर्षीय फेडेरर ८६ दशमलव २ मिलियन पाउण्ड स्टर्लिङ आम्दानी गर्दै ४ स्थान माथि पुगेका हुन् ।
विश्व टेनिसका लोकप्रिय खेलाडी फेडेररले २० वटा ग्राण्ड स्लाम जितेका छन् । क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकाका बास्केटबल खेलाडी लिर्बन जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष ५ मा आफूलाई उभ्याएका छन् ।
कोरोना भाइरसका कारण फुटबल स्टार मेसी र रोनाल्डोको तलब कटौती भएपछि पहिलोपटक टेनिसका खेलाडीले विश्वको सबैभन्दा धेरै कमाउने खेलाडीको स्थान लिन सफल भएको फोर्ब्सका वरिष्ठ सम्पादक कर्ट बाडेनहाउसेनले बताए ।
यसअघि जापानी खेलाडी नाओमी ओसाका संसारकै धेरै आम्दानी गर्ने महिला खेलाडी बनेकी थिइन् । २ पटककी ग्रान्डस्लाम विजेता ओसाकाले ३० दशमलव ७ मिलियन डलर आम्दानी गरेकी थिइन् ।