कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट, आइतवार सुनुवाइ हुने

काठमाडौं, २२ असार : कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितको टोलीले दायर गरेको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमलकुमार पौडेलले जानकारी दिनुभयो ।

रिटमाथि पर्सि आइतवार सुनुवाइ हुने भएको छ । एमालेले सर्वोच्चमा दिएको रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गरिएको छ । प्रक्रिया मिचेर सरकार बनाइएकोले असंवैधानिक कदमविरुद्ध सर्वोच्च पुग्नुपर्ने अवस्था आएको प्रमुख सचेतक भण्डारीले बताउनुभयो । कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

गठबन्धन दलहरूका तर्फबाट ४६ मात्रै पुगेपछि सभामुखलाई समेत जोडर बहुमत पुर्‍याउँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री थापाले आजै पद तथा गोपनियताको शपथ लिइसक्नुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा