क्वारेन्टिनमा मृत्यु

डोटी, २५ जेठ :

केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबा गजैसिं ऐरले बताउनुभयो ।

भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थिए । ‘१२-१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ”, मृतकका बुबा ऐरले भन्नुभयो, “क्वारेन्टिनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो ।”

छोरा ढलेपछि स्याहार गर्न बुबा आफैँ क्वारेन्टिन बस्ने शर्तमा भित्र पस्नुभएको थियो । “गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अलि होसमा आउँथ्यो”, उहाँले भन्नुभयो, “पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर राति झन् च्यापेपछि शरीरमै दिसापिसाब र रगत फालेपछि बिहान ३ बजे प्राण त्याग्यो ।”

मृतकका बुबा पनि गए रातिबाट क्वारेन्टिनमै बस्नुभएको छ । (रासस)

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’