नेपाली चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

काठमाडौं, १५ भाद्र : ‘गाईजात्रा’ सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रवार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी हुन् ।

यद्यपि चलचित्र पूर्णरूपमा राजनीतिमै केन्द्रित भने नरहेको निर्देशक चौलागाईंले बताइन् । ‘हाम्रो दैनिक जीवन राजनीतिबाट टाढा छैन, चलचित्रमा सामाजिक विषयवस्तु पनि समावेश छ’, उनले भनिन् । चलचित्रमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् ।

केपी फिल्मस्काे ब्यानरमा निर्माण भएको याे चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतले अभिनय गरेका छन् । बिहीवारदेखि नै प्रदर्शन गरिएको अर्को चलचित्र ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गरेका हुन् । उनकै लेखन रहेको याे चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै