बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, २४ भाद्र : बागमती प्रदेशसभाको बैठक नै बस्न नसकेपछि आइतबार सर्वदलीय बैठक डाकिएको छ । प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक डाक्नुभएको हो ।

आइतबार बिहान १० बजे बस्ने बैठकमा प्रदेशसभा सञ्चालनमा भइरहेको समस्या समाधानको उपाय खोज्ने बताइएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका संसदीय दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई बैठकमा बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । सहमतिज जुटेमा आइतबार ११ बजे प्रदेशसभाको बैठक राख्ने तयारीमा पनि प्रदेश सचिवालय रहेको बुझिएको छ ।

चालु आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा विपक्षी दलहरूसँग गरेको सहमति कार्यान्वयन नभएसम्म प्रदेशसभा अघि बढ्न नदिने अडान एमाले र राप्रपाले राखेका छन् । जसका कारण विगत दुई महिनादेखि प्रदेशसभा बैठक नै बस्न सकेको छैन ।

एमालेलाई ४५ करोड रुपैयाँ र राप्रपालाई २५ करोड रुपैयाँको योजना तथा कार्यक्रम बजेटमा समावेश गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेकोमा सो सम्झौता कार्यान्वयन नभएको गुनासो एमाले र राप्रपाको रहेको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै