काठमाडौं, १३ पौष : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र बलियो बन्दै गएको बताउनुभएको छ । आज दोलखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सरकारको नेतृत्वमा आउँदाको समयमा जस्तो अर्थतन्त्र कमजोर नभएको भन्दै अर्थतन्त्रमा सुधार देखिएको बताउनुभयो । ‘पछिल्लो समय विप्रेषण र राजस्व बढेको छ, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अर्थतन्त्रमा सुधारले देशमा उत्साह देखिएको छ ।’ उहाँले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै अब फरक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले दोलखाको उत्पादन बढाउन र पर्यटक बढाउनका लागि महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गर्दै गएको वर्षको तुलनामा दोलखाको आर्थिक अवस्था राम्रो भएको बताउनुभयो । उहाँले चीनदेखि दोलखा हुँदै भारत जोड्ने राजमार्ग निर्माणलाई सरकारले दीर्घकालीन योजनामा राखेको समेत बताउनुभयो । उहाँले दोलखामा ‘फिल्म सिटी’ निर्माणका लागि सरकारको सहयोग रहने समेत स्पष्ट पार्नुभयो ।





