टि२० विश्वकप तोकिएकै समयमा गर्ने आइसिसीको योजना

  शुक्रबार, जेष्ठ ३० :

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप तोकिएकै समयमा हुने वा नहुने अन्यौल रहेको छ । यस विषयमा सबै देश अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निर्णयको पर्खाईमा छन् । यता आइसिसी र अष्ट्रेलिया क्रिकेट बोर्ड भने टि२० विश्वकप तोकिएकै समयमा गर्ने योजनामा रहेको देखिन्छ । बुधबार बसेको आइसिसी बोर्ड बैठकले आगमी एक महिनापछि टि२० विश्वकपको बारे निर्णय गर्ने जनाएको छ ।

यसअघि मे २८ मा बसेको आइसिसी बैठकले जुन १० मा टि२० विश्वकपबारे निर्णय गर्ने जनाएको थियो । तर जुन १० मा बसेको बैठक पनि विश्वकप बारे ठोस निर्णय गर्न सकेन । त्यसअघि भने आइसिसीले टि२० विश्वकप तोकिएकै समयमा गर्ने अडान लिदै आएको थियो । आइसिसीको बुधबारको निर्णयले सकेसम्म तोकिएकै समयमा विश्वकप गर्ने तयारीमा रहेको संकेत देखाउँछ । आइसिसी आगमी एक महिना सम्म कोरोनाको महामारीको अवस्थालाई हेर्न चाहान्छ । कोरोनाको महामारी अझ बढी फैलिएमा भने आइसिसीले टि२० विश्वकप सार्न बाध्य हुने छ । अन्यथा कोरोना रोकथाममा कमी हुँदै गएमा तोकिएकै समयमा गर्न चाहेको बुझिन्छ ।

टि२० विश्वकप आउन अझैं पाँच महिना बाँकी छ । त्यसैले आइसिसी टि२० विश्वकप निर्णय हतारमा गर्न चाहदैन । अर्कोतर्फ अन्तर्राष्ट्रिय क्रिकेट टोली अभ्यासमा फर्किन थालेका छन् । जुलाई पहिलो साता देखी सुरु हुने तीन टेष्ट सिरिजको लागि झण्डै एक महिना अघिनै वेस्ट इन्डिज मंगलबार इंग्ल्यान्ड आई पुगेको छ । यी दुई देश बाहेक श्रीलंका, अफगानिस्तान र युएई अभ्यासमा फर्किसकेका छन् । अन्य टोली पनि अभ्यासमा फर्किने तयारी गरिरहेका छन् । जसले विश्वकप तोकिएकै समयमा हुने आशा पलाउँदै गएको छ ।

यता न्युजिल्यान्ड कोरोना मुक्त देश बनेको छ । यसले गर्दा क्रिकेट अष्ट्रेलियाले न्युजिल्यान्ड क्रिकेट बोर्डसँग सहकार्य गरेर टि२० विश्वकप तोकिएकै समयमा गर्न सक्ने राम्रो विकल्प पनि छ । अर्कोतर्फ टि२० विश्वकप दर्शक बिनाको रंगशालामा गर्ने चर्चा पनि छ। तर दर्शक बिनाको टि२० विश्वकप सम्भावना धेरै न्युन छ । सन् २०२१ मा भारतमा टि२० विश्वकप हुँदैछ । जसले गर्दा यो वर्ष टि२० विश्वकप नभएमा सन् २०२२ सम्म सार्नुपर्ने हुन्छ । सन् २०२३ मा एक दिवसिय विश्वकप भारतमा हुने छ । त्यसैले पनि आइसिसीले यो वर्षनै विश्वकप सम्पन्न गर्न चाहान्छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) पनि आइसिसीको विश्वकप निर्णयको पर्खाईमा छ । बिसिसीआई टि२० विश्वकप स्थगित भएमा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) उक्त समयमा गर्ने तयारी गरि रहेको छ । ( एजेन्सी )

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै