सेभिल्लासँग बार्सिलोनाको बराबरी

शनिबार, अषाढ ६  :

स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार रातिको खेलमा साविक विजेता बार्सिलोना सेभिल्लाको घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको छ । यस नतिजाले दोस्रो स्थानको रियल म्याड्रिडलाई भने फाइदा पुगेको छ । खेलको १२ औं मिनेटमा सेभिल्ला अग्रता लिन नजिक पुगेको थियो । फ्रिकिकमा रिबाउन्ड भएको बललाई जुलेस कोउन्डेले गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि पोस्टभन्दा थोरैले बाहिरियो । २१ औं मिनेटमा कोउन्डेले नै लिओनेल मेस्सीको फ्रिकिकलाई गोललाइन अगाडीबाट हेडरमार्फत क्लियर गरे । २५ औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।

खेलको इन्ज्युरी समयमा कोउन्डेले सुआरेजलाई फल गरेपछि खेलाडीबीच विवाद भएको थियो । रेफ्रीले बार्सिलोनाका सर्जियो बुस्केट्स र सेभिल्लाका फर्नान्डोलाई हात हालेपछि दुवैलाई पहेंलो कार्ड दिएका थिए । त्यसैबेला मेस्सीले डिएगो कार्लोसलाई हात हाल्दा भने रेफ्रीले कार्ड देखाएनन् । दोस्रो हाफको ६० औं मिनेटमा अनमार्क रहेका सेभिल्लाका लुकास ओकाम्पसको प्रहारले पोस्टको दिशा लिन सकेन । ७२ औं मिनेटमा मेस्सीले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई सेभिल्लाका गोलरक्षक भाच्लिकले विफल पारे । ८८ औं मिनेटमा जोर्डी अल्बाको क्रसमा अनमार्क रहेका लुइस सुआरेजले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको प्रहार आकासियो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा सेभिल्लाले खेल जित्ने सुवर्ण अवसर खेर फाल्यो । बार्सिलोनाको पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका सर्जियो रेगुइलोनले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार सिधै गोलरक्षक टेर स्टेगनको हातमा पुगेको थियो । यस बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ । दोस्रो स्थानको रियल म्याड्रिडको २९ खेलमा ६२ अंक रहेको छ । रियलले आइतबार रियल सोसीडाडविरुद्ध जित हासिल गरे अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ । सेभिल्ला ३० खेलमा ५२ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ । (एजेन्सी )

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा