युक्रेनसँगको शान्ति वार्तामा ट्रम्प र पुटिन उपस्थित हुनैपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ

काठमाडौं, २ जेष्ठ : अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेनसँगको शान्ति वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनिवार्य उपस्थित हुनुपर्ने बताउनुभएको छ । टर्किएमा भएको नाटोका विदेश मन्त्रीको बैठक सकिएपछि उहाँले रुस–युक्रेन युद्ध रोक्न अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनले पहल गर्नुपर्ने बताउनुभएको हो ।

टर्किएमा हुने शान्ती वार्तामा सहभागी हुन पुटिनले आफू नगई रुसको प्रतिनिधिमण्डल मात्र पठाएको सन्दर्भमा अमेरिकी विदेशमन्त्री रुबियोले शान्ति वार्ता निष्कर्षमा पुग्नेमा शङ्का व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ । पुटिनले आफ्ना सहयोगी भ्लादिमिर मेडेन्सकीको नेतृत्वमा प्रतिनिधि मण्डल पठाएको भन्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि उहाँको आलोचना गर्नुभएको छ ।

यस्तै खाडी देशको भ्रमणमा हुनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पले पनि वार्ताले ठोस निकास पाउन र युद्ध अन्त्य गराउन आफू र पुटिनकै वार्ता आवश्यक रहेको बताउँदै आउनुभएको छ । यस अघि युरोपेली नेता र युक्रेनले ३० दिने युद्ध विरामको कुरा उठाएपछि पुटिन आफैले हिजोका लागि द्विपक्षीय वार्ताको प्रस्ताव राख्नुभएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा