साउदीको दमामबाट १५४ जना नेपाली आज स्वदेश आइपुगे

काठमाडौं, १० असार :
साउदीको दमामबाट १५४ जना नेपाली आज स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत त्यहाँ समस्यामा रहेका नेपाली फर्किएका हुन् ।

नेपाली लिएर आएको जहाज केहीबेरअघि काठमाण्डौमा अवतरण गरेको हो । आज विदेशमा समस्यामा परेका नेपाली स्वदेश फिर्तीका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज विभिन्न पाँच ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपाली लिएर जहाज काठमाण्डौ आउनेछन् भने पाँच ठाउँमा नेपालीलाई लिन जहाज जानेछन् ।

यस्तै नेपाली लिएर आएको टर्किस् एअरलाइन्सले २८० जना नेपालबाट यात्रु लिएर फर्कनेछ । हिमालय एअरलाइन्सले यूएईमा समस्यामा परेका १५४ जना लिएर आउने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै नेपाल एअरलाइन्सले साउदीकै जेद्दाबाट पनि त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउँदैछ ।

विमानस्थलले फर्कनेको तथ्याँक भने खुलाएको छैन । आज कुवेतबाट पनि झण्डै १६० जना फर्कन सक्ने जनाइएको छ । कुवेतले जजिरा एअरको चार्टर्ड जहाजमार्फत आफ्नै खर्चमा त्यहाँ समस्यामा परेका नेपाली काठमाण्डौसम्म ल्याइदिइरहेको छ ।

यस्तै इस्तानबुलबाट आज टर्किस् एअरलाइन्सको चार्टर्ड जहाजमार्फत २८० जना फर्कने विमानस्थलले जनाएको छ । यो जहाजले फर्कंदा पनि नेपालबाट २८० जना नै लिएर जाने तालिका तय भएको छ । यस्तै आज हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने भएका छन् ।

हिमालय एअरलाइन्सको जहाज आज राति यूएईको आबुधाबी जानेछ भने नेपाल एअरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ । यस्तै कुवेतमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पनि चार्टर्ड उडान हुने भएको छ ।

यसअघि त्यहाँ आममाफीमा सहभागीलाई कुवेत सरकार आफैंले निःशुल्क ल्याइदिएको हो । आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीका लागि भने नेपाल एअरलाइन्सले पहिलो चार्टर्ड उडान भर्दैैछ । आज राति नेपाल एअरलाइन्स कुवेत जाने तालिका रहेको विमानस्थलले जनाएको छ ।

यस्तै नेपाल एअरलाइन्स जापानको नारिता र हिमालय एअरलाइन्स कतारको दोहा जाने तालिका रहेको छ । दुवै जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा