मधेशमा आज ‘बेलनौत’ गरिँदै

राजदेवी मन्दिरको द्वार धनुषाधाम, २० असोजः हिन्दुहरूको महान् चाड दसैँको अवसरमा आकर्षक तरिकाले सिङ्गारिएको जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरको द्वार । तस्बिरः अमरेन्द्रकुमार यादव÷रासस

काठमाडौं, १२ असोज : मधेसमा आज दशहारा पर्वको ‘बेलनौत’ गरिँदैछ । शारदीय नवरात्र र दशहारा भनिने दशैँ पर्वको षष्ठी तिथिमा ‘बेलनौत’ गरिने मैथिल परम्परा छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिनको नवरात्र भए पनि यसपालि चौथी (चतुर्थी) तिथि दुई दिन पर्दा १० दिनको नवरात्र भएको छ । नवरात्रको षष्ठी तिथिका दिन ‘बेलनौत’ विधिको मिथिला परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजना गरिन्छ ।

यसैगरी देवी शक्तिपीठ र मन्दिरमा पनि ‘बेलनौत’ विधिको बेल पूजास्थलमा राखिने मैथिल चलन छ । माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल) को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । ‘नौत’ भनेको निमन्त्रणा गरिनु हो ।

यसअनुसार आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गर्ने परम्परा रही आएको छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ । बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिन्छ । ‘बेलनौत’ विधि सम्पन्न गरिने तयारीमा मिथिलाका बासिन्दा जुटेसँगै पर्वको चहलपहल बढेको छ । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन नदी वा तलाउमा विसर्जन गरिने परम्परा छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा