काठमाडौं, २९ चैत : हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भागदौड हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । हिजो मिलोटमा रहेको युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत १९औँ शताब्दीको किल्लामा भागदौड हुँदा केही मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
यद्दपि घाइतेहरूको सङ्ख्या उल्लेख भएको छैन । सिटाडेल लाफेरियरमा धेरै युवाहरू सहभागी भएका कार्यक्रमका बेला भागदौड भएको हो । किल्लामा अत्यधिक भीड जम्मा हुँदा बाहिर निस्कन र प्रवेश गर्न खोज्ने समूहबीच ठेलमठेल हुँदा स्थिति नियन्त्रणबाहिर गएको खबरमा उल्लेख छ ।
हाइटीको उत्तरी नागरिक सुरक्षा विभागका प्रमुख जिन हेनरी पेटिटले अझै धेरै सङ्ख्यामा मानिसहरू हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । सरकारले घटनाको छानबिन चलिरहेको बताउँदै नागरिकलाई संयमित र सतर्क रहन आग्रह गरेको छ । हाइटी फ्रान्सबाट स्वतन्त्र भएपछि १९औँ शताब्दीको प्रारम्भमा यो किल्ला निर्माण भएको हो ।





