प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

प्रधानमन्त्री वालेन्द्र शाह शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका क्रममा । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाडौं, ३ बैशाख  : प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको छलफल सङ्घ र प्रदेश सरकारसँग सम्बन्धित विविध महत्त्वपूर्ण र गहन विषयमा हुनेछ । दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने यो छलफल सङ्घ-प्रदेश समन्वयलाई अझ प्रभावकारी बनाउने महत्त्वपूर्ण पहलका रूपमा पनि हेरिएको छ ।

सचिवालयका अनुसार छलफलमा विकास–निर्माणका कार्यलाई तीव्रता दिने, स्रोतसाधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ । साथै, राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषय पनि छलफलको मुख्य ‘एजेण्डा’ हुनेछ ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत आजको सो छलफलमा हुने अपेक्षा गरिएको छ । सङ्घीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने र नागरिकलाई प्रत्यक्ष लाभान्वित गराउने महत्त्वपूर्ण कदमका रूपमा यो छलफललाई लिइएको छ । -रासस

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ सामान्य बढ्यो

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

हाइटीमा ऐतिहासिक किल्लामा भागदौड हुँदा कम्तीमा ३० जनाको ज्यान गयो