प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट ५ मिनेट मौन धारण

काठमाडौं, २६ जेष्ठ : प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ । सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षी दलहरूले अडान कायमै राखेपछि बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सचेतक निश्कल राईले शहीदको सम्झनामा ५ मिनेट मौनधारण गर्न आग्रह गर्नुभयो । शहीदको सम्झनामा प्रायः १ मिनेट मौन धारण गर्ने चलन छ । तर आजको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको अगुवाइमा ५ मिनेट मौन धारण भएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति जनाउनुभएको छ । सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो ।

उहाँले यसबारे ध्यानाकर्षण भएको बताउनुभएको छ । गएको जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव पेश गर्नुभएको छ । बैठकमा सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दाबी गर्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा