शनिबार, अषाढ २० :
स्पेनिस फरवार्ड अल्भेरो मोराटाको दुई गोल सहयोगमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । एट्लेटिकोले रेलिगेसन जोनमा रहेको रियल मालोर्कामाथि ३–० को सहज जित निकालेको हो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शुक्रबार राति भएको खेलमा एट्लेटिकोको खेलको शुरुवातदेखि नै मालोर्कालाई दवावमा राखेको थियो । १२औं मिनेटमा माकर्सस लोरेन्टोको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिएका थिए । म्यानुयल सान्चेजले ठुलो मौका गुमाउदा घरेले टोली अग्रता लिनबाट चुक्यो । १०औं मिनेटमा अल्भेरो मोराटाको प्रहारले पोस्टको गति लिन सकेन । २२औं मिनेटमा पाहुना टोलीका इड्रिसु बाबाले अवसर पाएपनि सदुपयोग गर्न सकेन । २४औं मिनेटमा जोआओ फेलिक्सले अवसर पाएपनि उनको प्रहार आकासिएको थियो । एक पछि अर्काे आक्रमण विफल भइरहेको एट्लेटिकोले २५औं मिनेटमा पेनाल्टीको अवसर पायो ।
मोराटालाई पेनाल्टी बक्समा एलेक्सन्डर सेड्लरले फउल गरेपछि रेफ्रीले एट्लेटिकोलाई पेनाल्टी प्रदान गरेको थियो ।तर, २७औं मिनेटमा मोराटा आफैले गरेको पेनाल्टी प्रहारलाई मालोर्काका गोलरक्षक मानोलो रेइनाले बचाएपनि उनी मोराटाले पेनाल्टी प्रहार गर्नु अघि नै गोललाइनलाईन टच नगरेका कारण रेफ्रीले एट्लेटिकोलाई पुनः पेनाल्टी प्रदान गरेको थियो । यसपटक मोराटा चुकेनन् र घरेले टोलीलाई १–० ले अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मोराटाले मार्कुस लोरेन्टेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
दोस्रो हाफमा मालोर्काले सम्हालिएको खेल पस्कदै एट्लेटिकोको पोस्टमा आक्रमण बुनेपनि गोल गर्न सकेन । ६१औं मिनेटमा ताकेफुसा कुवोको प्रहारलाई एट्लेटिकोका जोस जिमिनेजले बचाए । ७४औं मिनेटमा एट्लेटिकोका लेनन लोडीको प्रहार बारमा लागेर फर्कियो । ७९औं मिनेटमा कप्तान कोकीले गोल गर्दै एट्लेटिकोलाई ३–० को सहज जित दिलाए । जितसँगै एट्लेटिकोले चार खेल बाँकी रहँदा ला लिगामा तेस्रो स्थानलाई थप मजवुत बनाएको छ । एट्लेटिकोको ३४ खेलबाट ६२ अंक पुगेको छ । एक खेल कम खेलेको सेभिल्लाको ५७ अंक रहेको छ । पराजित मालोर्कालाई रेलिगेसनमा पर्ने दवाव बढेको छ । मालोर्का २९ अंक जोडेर १८औं स्थानमा छ ।एजेन्सी