सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

TAROUBA, TRINIDAD AND TOBAGO - AUGUST 22: Sandeep Lamichhane (2R) and Glenn Phillips (2L) of Jamaica Tallawahs celebrate the dismissal of Sherfane Rutherford (L) of Guyana Amazon Warriors during the Hero Caribbean Premier League match 8 between Guyana Amazon Warriors and Jamaica Tallawahs at Brian Lara Cricket Academy on August 22, 2020 in Tarouba, Trinidad And Tobago. (Photo by Randy Brooks - CPL T20/CPL T20 via Getty Images)

काठमाडौँ, ७ भदौ  :

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिनुभयो । उहाँले निकै किफायती बलिङ गर्नुभयो । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिनुभयो । उहाँले शेरफेन रदरफोर्डलाई छ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काउनुभयो । नवौँ ओभरमा बलिङ गर्न आउनुभएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन दिनुभयो । त्यसपछि ११औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्र्नुभएका उहाँले सो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराउनुभयो ।

सो ओभरमा उहाँले विपक्षी टोलीलाई मात्र एक रन दिनुभयो । यस्तै सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिनुभयो । खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्नुभएका उहाँले सो ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गर्नुभयो । उक्त ओभरमा सन्दीपले दुई रन मात्र खर्चिनुभयो . टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो ।

एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो । गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाउनुभयो । बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन÷तीन तथा आन्द्रे रसेलले एक विकेट लिनुभयो . विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए । सन्दीपले आजको खेलमा ब्याटिङ समेत गर्नुभयो । खेलको १६औँ ओभरमा जमैकाका लागि ब्याटिङ गर्न आउनुभएका सन्दीपले मात्र तीन बल खेल्न सक्नुभयो । उहाँले कुनै रन भने बनाउन सक्नुभएन । सन्दीपले हालसम्म तीन खेलमा चार विकेट लिनुभएको छ ।

उहाँले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा चार ओभरमा २३ रन खर्चेर एक विकेट लिनुभएको थियो ।. यस्तै भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले चार ओभरमा ३० रन दिँदै एक विकेट लिनुभएको थियो । सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५पाँचविकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल सात विकेटले गुमाएको थियो । गुयानासितको खेल हारेसँगै जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा झरेको छ । सन्दीप तेस्रो पटक सिपिएल खेल्दै हुनुहुन्छ ।

उहाँले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियाट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्नुभएको थियो । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।(रासस)

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै