राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक राखिने 

बागलुङ, १२ फागुन :

गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको सालिक राखिने भएको छ । सोही ठाउँमा निर्माणाधीन अमरसिंह पदमार्गछेउ सालिक राख्न निर्माणको काम शुरु भएको हो ।

आगामी चैत १४ गते कर्णेल उजिरसिंह थापाको २२४औँ स्मृति दिवसका अवसरमा सालिक अनावरण गरिने सात सय बगाले थापा समाज मल्मका केन्द्रीय प्रतिनिधि छुमबहादुर थापाले जानकारी दिनुभयो । “जगसहित अरू संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ”, थापाले भन्नुभयो ।

सालिक निर्माणका लागि बगाले थापा समाज बेलायतबाट नगद रु एक लाख ७० हजार सहयोग प्राप्त भएको थियो । सात सय बगाले थापा समाज मल्मले सानोखोला–बगाले थापा कूल मन्दिर–राम्चेढुङ्गा हुँदै पर्यटकीय लेक घुम्टे जोड्ने अमरसिंह पदमार्गको निर्माणलाई पनि गति दिएको छ ।

समाजको आयोजना र बगाले थापा क्षेत्री समाज धवलागिरिको समन्वयमा आगामी चैत १३ र १४ गते कर्णेल उजिरसिंह थापाको स्मृति दिवससहित विविधि कार्यक्रम गरिँदैछ । उक्त कार्यक्रममा देशभरबाट बगाले थापाका प्रतिनिधिहरुको मल्ममा जमघट हुने जनाइएको छ ।

सो अवसरमा नेपालको राष्ट्रिय स्वाधीनताको रक्षामा बगाले थापाले पु¥याएको योगदानमाथि विद्वानबाट कार्यपत्र प्रस्तुतिसहित बहस कार्यक्रम हुँदैछ । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले विसं १८७१–१८७२ मा बुटवलको जीतपुरगढीमा भएको युद्धमा अङ्ग्रेज सेनालाई पराजित गरेको थियो ।(रासस)

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन