सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं, २३ फागुन :
अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ झन् महँगो हुँदै गएको छ । सुनको भाउ शुक्रबार तोलामा १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कोरोना भाइरसका कारण विश्व नै आर्थिक मन्दीतिर गइरहेकाले लगानीकर्ता सुनतिर आकर्षित भएका हुन् । लगानीकर्ता सुनमा आकर्षित हुँदा सुन अन्तर्राष्ट्रिय बजारमै महँगो भएको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा झन् महँगो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरमा नेपालको विनिमय दर भारतीय रुपैयाँमा भर पर्ने भएकाले असर गरेको हो । यो हप्तामात्रै सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको छ ।  हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार घटबढ भएन ।

मङ्गलबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको भाउ बुधबार भने एकैदिन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको थियो । बिहीबार फेरि तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो तोलाको ८२ हजार पाँच रुपैयाँ पुगेको हो । चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’